loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

‘क्याराभान’ फिल्मका नायक थिन्ले रहेनन,घोडाबाट लडेर मृत्यु
फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुपको दुर्घटनामा निधन भएको छ। डोल्पा सदरमुकाम दुनैबाट गाउँ फर्कंदै गरेका ७२ वर्षीय थिन्ले छेत्का भन्ने स्थानमा दुर्घटनामा परेका हुन्। खच्चरले थिन्ले चढेको घोडालाई ठक्कर दिएको थियो। घोडासँगै लडेर गम्भीर घाइते थिन्लेको आधा घन्टापछि निधन भएको जानकारीमा छ ।

घोडाको घटनास्थलमै मृत्यु भए पनि थिन्ले जिवितै थिए। केही पर्यटकले उनलाई लडेको देखेपछि छिप्का ल्याएका थिए। उपचारको लागि हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी हुँदै गर्दा साँझ साढे ५ बजेतिर थिन्लेको निधन भयो । अहिले उनको शव डोल्पाको छिप्कामा राखिएको  स्थानीय तथा डोल्पो सोसाइटीका म्यानेजर पेमा वाङछेन डोल्पोले जनाए।

फ्रान्सेली निर्देशक एरिक भ्यालीद्वारा निर्देशित फिल्म ‘क्याराभान’का कारण विश्वभर चर्चित थिए थिन्ले। नेपाली निर्माता नीर शाहसमेतको लगानी रहेको ‘हिमालय’ नामबाट पनि चिनिने उक्त फिल्म सन् २००० मा सम्पन्न ७२ औं अस्कर अवार्ड समारोहमा विदेशी भाषातर्फका उत्कृष्ट पाँच फिल्ममा पर्न सफल भएको थियो। पहिलोपटक अभिनय गरे पनि उनको यथार्थपरक अभिनयले धेरैलाई आश्चर्यचकित तुल्याएको थियो।
eku_back_gain_poster
थिन्लेले खेलेको दोस्रो फिल्म भने ‘इकु ब्याक अगेन’ थियो। फिल्ममा उनी राउटे मुखियाको भूमिकामा थिए। त्यसबाहेक थिन्लेलाई दर्शकले भूषण दाहाल निर्देशित म्युजिक भिडियो ‘सा कर्णाली’मा हेर्न पाएका थिए। सो गीत नेपथ्य ब्यान्डले गाएको थियो। उनले कोरियाली समूहले बनाएको एउटा डकुमेन्ट्रीमा पनि अभिनय गरेका थिए।

माथिल्लो डोल्पाका अगुवा समाजसेवी थिए थिन्ले। फिल्ममा देखिनुपूर्व उनले साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भई काम गरेका थिए

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses