यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
भारत हुँदै दुबई पुगेका ३५ नेपाली महिला फिर्ता
भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ ।
फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट आज दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।
उनीहरुलाई सोमबार साँझ फिर्ता गरिएपछि आज १२ जना दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । बाँकी २३ जना महिला अझै दुबईमै रहेको र फिर्ता हुने टिकट नहुँदा अलपत्र अवस्थामा रहेका छन् ।
महानिर्देशक गेलालले भन्नुभयो– ‘‘अहिले फिर्ता भएका आफ्नै पैसाले टिकट काटेर फर्किएको बताएका छन्, अरु टिकट काट्ने पैसा नहुँदा दुबईमै रहेको विवरण आएको छ ।’’
उनीहरु पर्यटक प्रवेशाज्ञामा गएको अनुसन्धानको क्रममा देखिएको छ । पर्यटक प्रवेशाज्ञामा जानेहरुले जाँदा नै आफूसाथमा आउने टिकट पनि साथै लिएर जानुपर्नेमा उनीहरुको साथमा त्यस्तो टिकट नरहेको भेटिएको छ ।
फर्किएकाले दिएको प्रारम्भिक वयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट दुबई जाँदा उनीहरुले आफू दुबई हुँदै अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका छन् ।
विभागका महानिर्देशक गेलालले उनीहरुलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको जानकारी दिनुभयो । पक्राउ परेकाले दिएको विवरणको आधारमा उनीहरुलाई त्यसरी अवैध बाटोबाट कुँवेत लैजाने गिरोहबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसरी जानेमा विभिन्न जिल्लाका रहेका छन् ।
उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।
पर्यटक प्रवेशाज्ञामा जान लागेका उनीहरुको साथमा जाने टिकट भए पनि आउने टिकट नभेटिएपछि उनीहरुलाई फिर्ता गरिएको थियो ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरुमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses