यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
कुनै पनि भौतिक संरचना निर्माण गर्दा सिमेन्ट अावश्यक हुन्छ। यसको गुणस्तर र मात्रामा संरचनाको बलियोपन निर्धारण गर्छ।
अन्य खाद्य सामग्री जस्तै सिमेन्ट पनि उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरी सक्नुपर्छ। यसको पनि मिति र प्रयोग गर्ने अवधि सकिन्छ। धेरैले यसको बारेमा ख्याल नराख्दा निर्माण गरिएका संरचनाहरु कमजोर हुने गरेको छ।
हाल नेपाली बजारमा स्वदेशी र विदेशी गरी झण्डै ३० भन्दा बढी कम्पनीले सिमेन्टको उत्पादन गरी रहेका छन्। यसरी उत्पादन गरिएका सिमेन्टहरु मध्ये धेरैमा दैनिक उपभोग्य गर्ने सामानमा जस्तो प्रत्यक्ष रुपमा उत्पादित र म्याद सकिने मिति लेखिएको हुदैँन। तर यसमा ध्यान दिएर खोजियो भने सो मिति थाहा पाउन सकिन्छ।
गुणस्तर तथा नापतौल विभागले अहिले अन्य सामानमा जस्तै सिमेन्टमा पनि उत्पादन र प्रयोग गर्न मिल्ने अन्तिम मिति समावेश गर्ने तयारी भने गरिरहेको छ।
सिमेन्टको उत्पादित मिति र कहिलेसम्म प्रयोग गर्न सकिन्छ भनेर कसरी थाहा पाउने?
कम्पनीले सिमेन्ट उत्पादनको समयमा बोरामा ब्याच नम्बर उल्लेख गर्छ। यही ब्याच नम्बरका आधारमा सिमेन्टको उत्पादन र प्रयोगका लागि अन्तिम मिति पत्ता लगाउन सकिने नापतौल तथा गुणस्तर विभागका निर्देशक विश्व बाबु पुडासैनीले बताए।
उपभोक्ताले सिमेन्ट किन्दा सबैभन्दा पहिले उत्पादन मिति थाहापाउन यसको ब्याच नम्बर हेर्नुपर्छ। कम्पनीले उत्पादन गर्दा बोरामा वर्षमा ५२ हप्ताअनुसार ५२ वटा ब्याच नम्बर राखेको हुन्छ।
जस्तै २०७२ वैशाख १ गतेखि ७ गते सम्मको समयमा उत्पादित सिमेन्टमा २०७२ र १ लेखिएको हुन्छ। त्यस्तै यदि बोरामा २०७२ र ५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७२ चैतको अन्तिम हप्तामा उत्पादित हो भन्ने बुझ्नुपर्छ।
सिमेन्ट सही तरिकाले स्टोर गरेर राखिएको छ भने उत्पादित मितिको ६ महिनाभित्रमा प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ। त्यस्तै, सिमेन्ट किन्दा ब्याचनम्बर हेरेर पछिल्लो समयमा उत्पादन गरिएको किन्नु राम्रो हुने पुडासैनीले बताए। जहिले पनि ब्याचनम्बर हेरेर मात्र सिमेन्ट किन्ने हो भने म्याद सकिएको सिमेन्ट लिनबाट जोगिन सकिन्छ। यसका लागि उपभोक्ता आफैं सचेत हुनुपर्छ।
त्यस्तै किन्ने बेलामा पसलले सिमेन्ट कसरी स्टोर गरेर राखेको छ भन्नेमा पनि ध्यान दिनुपर्ने विभागले जानकारी दिएको छ। यो कुराको सचेतना आवश्यक रहेको पुडासैनीले बताए। चिसो ठाउँमा राखिएको सिमेन्टमा ओस आउने र डल्ला पर्ने हुनसक्छ।
नेपाल गुणस्तर चिन्ह प्राप्त नेपाली सिमेन्ट सबैलाई विभागले ३३ ग्रेडको मान्यता प्राप्त प्रमाणपत्र दिएको छ। कम्पनीले पनि उत्पादन समयमा उक्त सिमेन्टमा गुणस्तर पुरा भए नभएको परीक्षण गर्नुपर्छ। यदि कम्पनीले तोकिएको मापदण्ड पुरा नगरेमा ईजाजतपत्र खारेज समेत गर्न सकिने विभागले जानकारी दिएको छ।



0 comments
Write Down Your Responses